काठमाडौं– काठमाडौंको गोठाटारमा गोली प्रहारबाट ‘कपडा व्यवसायी’ लाल मोहमद भनिने मोहम्मद दर्जीको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
हत्याको घटनामा सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले १ महिला र २ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुले गोली हानी हत्या गरिएका मोहम्मद दर्जीमाथि निगरानी गरेकोदेखि उनमाथि गोली प्रहार गर्ने सुटरलाई हतियार उपलब्ध गराएको देखिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज–१५ का रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका–१ घ भए काठमाडौंको कपन बस्ने २१ वर्षीया सुम्मी भनिने सुस्मिता स्याङताङ छन्।
प्रहरीका अनुसार पक्राउ परेका महोरम र रेहान मियाँले हतियार व्यवस्थापनमा मुख्य भूमिका देखिएको छ। महोम्मद दर्जीको हत्यामा प्रयोग भएको हतियार उनीहरुले वीरगञ्जबाट काठमाडौं पठाएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश राज मैनालीले जानकारी दिए।
एसपी मैनालीका अनुसार सुस्मिता स्याङताङले गोली हानी मारिएका दर्जीको गतिविधिहरु निगरानी गर्ने गरेकी थिइन्।
काठमाडौंको गोठाटारमा एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका मोहम्मद दर्जीमाथि सोही गार्मेन्ट भएको घरको अगाडि असोज ३ गते साँझ गोली प्रहार भएको थियो। प्रहरीले घटनास्थलबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान, ९ एमएमको गोलीको खोका ४ थान र ९ एमएमको जङ्गी ४ राउण्ड फेला परेको थियो।
प्रहरीले पक्राउ परेका ३ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।