काठमाडौं– बाजुराको एक मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गरिएको थियो। कुटपिटमा संलग्न भएको दाबीसहित वडाध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको हो।
उनीहरुमाथि जातिय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न हालको घर भएको कन्चनपुरबाट पुर्ख्यौली घर बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडाध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरेका थिए।
उनीहरुले सुनारसँग रहेको नगद ६० हजार रुपैयाँसमेत लुटेको जाहेरीमा उल्लेख छ। प्रहरीले बडाध्यक्षलाई पक्राउ गरेको छ। अन्य २ जना भने फरार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।