काठमाडौं– इन्द्रजात्राको दिन (रातिको समयमा) काठमाडौंको जैसीदेवल लगायत विभिन्न क्षेत्रमा अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी ७ जना व्यक्तिलाई घाइते बनाउने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इन्द्रजात्राको राति एउटा समूहले जैसीदेवल लगायत क्षेत्रमा अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा ७ जना घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले घाइते भएकाहरुको उद्धार गरेर अस्पताल भर्ना गरेको भएपनि घटनामा संलग्नहरु भने फरार थिए।
घटनाका सन्दर्भमा अनुसन्धानका क्रममा सीसीटीभी फुटेजको समेत सहायतामा प्रहरी ७ जनाको पहिचान गर्न ‘सफल’ भएको हो। अनुसन्धानका क्रममा संलग्नता खुलेको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ घर भएका २२ वर्षीय राजेश लामा (बल), सिन्धुलीको तीनपाटन गाउँपालिका–१ घर भएका १८ वर्षीय राजु मगर छन्। २ जनाको भने प्रहरीले नाम गोप्य राखेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध मुलुकी अपराध (संहिता) ऐनअन्तर्गत ज्यासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।