काठमाडौं– सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ।
असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठक बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको हो।
बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदान–प्रदान गर्ने सहमति भएको छ।
यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।