काठमाडौं– ट्राफिक प्रहरीले लागुऔषध सेवन गरी सवारी चलाउने एक जनालाई नागढुङगाबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा एक जना चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागमती प्रदेश ०१- ००६ ख ३९९१ नम्बरको आईचर गाडीका चालक धादिङको धुनिवेशी नगरपालिका–५ का २३ वर्षीय सुजन ढकाल रहेका छन्।
चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन्। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ।
सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच अभियान सुरु गरेको हो।
लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तीव्रता दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
*प्रहरीबाट प्राप्त तस्बिर प्रयोग गर्दा असम्बन्धित व्यक्तिको परेकाले हटाएका छौं। यसबाट सम्बन्धित व्यक्तिमाथि परेको असरका लागि क्षमाप्रार्थी छौं।- सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।