काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको आचारसंहिता आज बुधबारदेखि लागू गरेको छ।
आयोगको मंगलबारको निर्णय अनुसार बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए।
आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न पाइने आचारसंहितामा उल्लेख छ। यद्यपि, सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाउने छैनन्।
संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने पनि आचारसंहितामा व्यवस्था छ। उनीहरुले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन्।
सरकारी कर्मचारीलाई पनि कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरिएको छ। कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ।
सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचारसंहितामा व्यवस्था छ ।
निर्वाचनमा खटिने कर्मचारीले कुनै उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम बनाइएको छ। सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेदवारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ।
गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन्। यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई पनि लक्षित गर्दै आचारसंहितामा व्यवस्था गरेको छ। सामाजिक सञ्जालमा गलत, भ्रामकवा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने आयोगले जनाएको छ।
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ।
त्यस्तै, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य गर्न नपाउने आचार संहितामा उल्लेख छ। त्यस्तै अपमान गर्ने, देषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने आचारसंहितमा उल्लेख छ।
कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, टयाग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने आचार संहितामा उल्लेख छ।
यसैगरी, निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै प्रकाशन गर्न नहुने आचारसंहितामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।