काठमाडौं– शिक्षकको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला हुन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हत्या आरोपमा उनलाई पक्राउ गरेको हो। सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ लेखर्कमा बसेर कालिका आधारभूत विद्यालयमा दीपककुमार ठाकुर पठाउँदै आएका थिए।
भै कुमार राईको घरमा डेरा बसेर पढाउँदै आएका ठाकुर असोज ७ गते बिहान ७ बजेतिर मृत भेटिएका थिए। कोठामा सुतेकै अवस्थामा मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
मृतकको टाउको तथा शरीरका अन्य भागहरुमा चोट तथा कुटपिट गरेर हत्या गरेजस्तो देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा छलमाया पक्राउ परेको ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा लागेकी उनलाई असोज ८ गते साँझ साढे ६ बजेतिर घरबाटै पक्राउ गरिएको हो। नाक, मुख र घाँटीमा गम्छाले बाँधेर मुखमा सिरानीले थिचेर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकी छलमायालाई कर्तव्य ज्यानको कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।