काठमाडौं– काठमाडौंको नयाँ बसपार्क (गोंगबु) क्षेत्रबाट दुर्लभ वन्यजन्तु गैँडाको खागसहित पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे २ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा दोलखाको शंकर गाउँपालिका–४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुमको उत्तरगंगा गाउँपालिका–८ घर भएकी ३९ वर्षीया प्रेम कुमारी घर्ती छन्।
टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रको न्यू रुकुम गेस्ट हाउसमा केही व्यक्तिहरुले गैंडाको खाग लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरी बृत्त महाराजगञ्जको टोलीले छापा मारेको थियो।
छापा मार्दा गैँडाको गेस्ट हाउसमा लुकाएर राखिएको अवस्थामा खाग १ थान फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।