धनुषा– सशस्त्र प्रहरी बलको टोलीले साढे १९ लाख रुपैयाँभन्दा बढीको चाँदीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
धनुषा जिल्लाको नगराइन नगरपालिका–२ स्थित जटहीबाट करिब १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित १ भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) जटहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका गरेका झालाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँच क्रममा उनले शरीरमा बाँधेर लुकाइ छिपाइ राखेको अवस्थामा १९ किलो ४१७ ग्राम चाँदी फेला परेको हो।
पक्राउ परेका झालाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।