काठमाडौं– ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाँउपालिका–३ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ छन्।
वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९०९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।
उक्त एनएस २०० सीसीको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भइ हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौको हात्तीगौँडाबाट हराएको भनी मगरले निवेदन दिएका थिए। उक्त मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर, स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने, सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न एसएसपी भट्टले आग्रह गरेका छन्।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने एसएसपी भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।