काठमाडौं– मंसिर ४ गतेको निर्वाचन आउन अब ५७ दिन बाँकी छ। एकैचरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अब आचारसंहिता लागू गर्नुपर्ने निष्कर्षमा निर्वाचन आयोग पुगेको छ।
विगतमा पनि दुई महिनाअघि आचारसंहिता लागू गरेको अभ्यास समेत रहेको र यसपटक दशैं–तिहार जस्ता चाडपर्व नजिकै आएका कारण पनि आचारसंहिता छिट्टै लगाउने आयोगको तयारी छ।
आयोगले त्यसका लागि प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुसँग छलफल थालेको छ। आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र अन्य मन्त्रीहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्न समय माग गरेको छ।
उनीहरुको प्रतिबद्धता आएपछि अन्य दलहरुसँग पनि छलफल गरेर आचारसंहिता लागू गर्ने तयारीमा आयोग रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले गर्ने सरुवा बढुवा लगायत धेरै काममा रोक लाग्ने भएकाले सरकार भने तत्काल आचारसंहिता लगाउने पक्षमा छैन। निर्वाचनलक्षित सरुवा बढुवा र अन्य कार्य गर्न बाँकी भएकाले त्यसमा असर पर्ने सरकारको बुझाइ छ।
सरकार चाहन्छ दशैंपछि
सरकार निर्वाचन आचारसंहिता दशैंपछि मात्र लागू हुनुपर्ने पक्षमा रहेको छ। १० गते देखि घटनस्थापना भएसँगै दशैं सुरु हुने भएकाले असोज २३ गतेपछि मात्र आचारसंहिता लगाउनुपर्ने पक्षमा सरकार रहेको एक मन्त्रीले बताए। तर, आयोग भने दशैंअघि नै लागू गर्ने पक्षमा छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले दलहरुको सहजताका लागि दशैंअघि आचारसंहिता लागू गर्न खोजेको बताए। सरकार र दलहरुसँग सल्लाहपछि आयोगले यसको निर्णय गर्ने उनले बताए।
आयोगले आचारसंहिता यसअघि नै निर्माण गरेर राजपत्रमा प्रकाशित गरेको छ। आयोगको निर्णयपछि उक्त आचारसंहिता लागू हुने छ। दशैंमा दलहरुको अनावश्यक खर्च बचाउनका लागि अहिले नै आचारसंहिता लागू गराउन उपयुक्त हुने आयोगको सुझाव छ।
आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भएर छलफल हुदाँ केही बुदाँमा राजनीतिक दलहरुले आपत्ति प्रकट गरेका छन्। मन्त्री र प्रधानमन्त्रीलाई आफ्नो बाहेक निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाउने लगायतका केही व्यवस्थाप्रति दलहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
आयोगले यस पटकको निर्वाचन आचारसंहितामा पनि भोज भतेरदेखि र्याली, टोपी, भेष्ट र सामाजिक सञ्जालमा हुने खर्चमा पनि रोक लगाउने प्रावधान समेटेको छ। आयोगले कर्मचारीको सरुवा र अर्थ मन्त्रालयले रकामान्तर गरेकोप्रति यसअघि नै स्पष्टीकरण सोधिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।