काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।
यसअघि शुक्रबार दिनभरजसो छलफल भएपनि सहमति जुटेको थिएन। बालुवाटारमा बसेको बैठकमा दलहरु पुरानै अडानमा रहेपछि सहमति हुन नसकेको हो।
शुक्रबार बिहान ११ बजे अनि दिउँसो २ बजे दुईपटक अलग अलग छलफलपछि गठबन्धनको बैठक बसेको थियो। साँझसम्म सबै दल आ–आफ्नै अडानमा रहेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरु उठेका थिए।
सहमति खोज्ने प्रयासलाई जारी राख्ने भन्दै नेताहरुले शनिबार फेरि बैठक बस्ने बोलाएका हुन्।
गठबन्धनका नेताहरुले प्रतिनिधि सभाअन्तर्गत देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये ८० प्रतिशत सिटमा कुरा मिलिसकेको दाबी गरेका छन्। प्रदेश सभाका ३३० सिटमध्ये पनि ८० प्रतिशतकै हाराहारीका सिटमा सहमति जुटिसकेको दाबी गठबन्धनका नेताहरुको छ।
तर, मधेसका केही प्रमुख निर्वाचन क्षेत्र र पहाडी क्षेत्रका पनि केही जिल्लामा कुरा मिल्न सकेको छैन। मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच कुरा मिल्न सकेको छैन। यस्तै, पहाडी क्षेत्रका केही सिटमा कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका आ–आफ्नै दाबी छन्।
यस्तै, केही क्षेत्रमा ‘हेविवेट’ उम्मेदवारको व्यवस्थापनलाई लिएर पनि गठबन्धनका दलहरु सकसमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।