विराटनगर– झापाको दमक नगरपालिका–३ बेलडागीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङको हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। इलामको चुलाचुली गाउपालिका–५ पकुवामा बुधबार साँझ १०÷१२ जना अपरिचित व्यक्तिहरुको समूहले बेलडागीस्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियारले शरीरको विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए। घाइते गुरुङको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेश कुमार याख्खा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याख्खा, ३३ वर्षीय सन्तु भन्ने चन्द्र कुमार यवालाई पक्राउ गरेको हो।
यसैगरी सोही ठाउँका ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राईसमेत ९ जनालाई विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढु्रगाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाइकलको दुवै चक्काको टायर काटी फालेको अवस्थामा बरामद गरेको छ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन उनीहरुले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको प्रहरीले जनाएको छ।
सो घटनामा अन्य केही व्यक्तिहरु पनि संलग्न भएको र उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।