काठमाडौं– जाजरकोट प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक नेतालाई पेस्तोल र ग्रिनेडसहित पक्राउ गरेको छ।
नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन)लाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परिएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए।
नलगाड नगरपालिका- ६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एचजी लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको डीएसपी सन्तोषकुमार निरौलाले जानकारी दिए।
पक्राउ परेका शाहीविरुद्ध जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यता, नेकपा (बहुमत) जाजरकोटले भने योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरिएको आरोप लगाएको छ। पक्राउ परेका शाहीलाई बिनासर्त रिहाइ गर्न नेकपा बहुमतका जिल्ला इन्जार्ज प्रेमप्रकाश वली ‘धमिल’ले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।