जलेश्वर– कपाली तमसुक बनाएर मिटरब्याजमा ऋण दिइ ठगी गरेको आरोप लागेका महोत्तरीका अनिरुद्र साह जेल चलान भएका छन्। ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको पुर्पक्षका लागि महोत्तरी जिल्ला अदालतले साहलाई थुनामा पठाउने आदेश दिएको हो।
महोत्तरीदेखि झापा सम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको जालोमा फसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण समेत गरेको आरोप लागेका जिल्लाको भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले पूर्पक्षका लागि जेल चलान गर्ने आदेश जारी गरेको हो।
महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन्।
भङ्गाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले नेपाल सरकार वादी भएको मुद्दामा भङ्गाहा–५ बस्ने अनिरुद्धसमेतलाई विपक्षी बनाइएको छ। प्रहरीले भदौ ४ गते अनिरुद्रलाई पक्राउ गरेको छ।
आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत् महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो। अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।