काठमाडौं– नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ।
आउँदो ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी महामन्त्री शर्माको नेतृत्वमा रहेको घोषणा पत्र तयारी समितिमा बुधबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले ४१ सदस्य थप गरेका छन्।
पार्टीका ६ सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य र बुद्धजीवीहरु सम्मिलित कांग्रेसको घोषणापत्र तयारी समितिले बुधबार र बिहीबार लागातार दुईवटा बैठक गरेको छ। समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई नियुक्त गरिएको छ भने घोषणा पत्र निर्माण थप सहजताका लागि दुईवटा उपसमिति पनि बनाइएको छ।
सहमहामन्त्री परियारको नेतृत्वमा अध्यन तथा विश्लेषण उपसमिति र स्वर्णिम वाग्लेको नेतृत्वमा प्रारम्भिक खाका मस्यौदा उपसमिति बनाइएको छ। दुवै उपसमिति बिहीबारदेखि नै सक्रिय भइसकेका छन्।
‘उम्मेदवारहरु मनोनयन दर्ता गर्न जाँदा पार्टीको घोषणापत्रसहित जाओस् भन्ने उद्देश्यसहित कामहरु अगाडि बढाएका छौं’, सहमहामन्त्री परियारले नेपाल लाइभसँग भने, ‘त्यसका लागि हमीले २३ असोजभन्दा अगाडि नै पार्टीको घोषणापत्र सार्वजनिक गर्नेगरि अघि बढेका छौं।’
परियारले घोषणापत्रको प्राथमिकता र विषयका बारेमा निष्कर्षमा पुग्न दुई दिनसम्म लाग्न सक्ने बताए। घोषणापत्र तयारी समितिको बुधबार बसेको बैठकले ‘निरन्तरतामा नवीनता’को मन्त्रलाई केन्द्रमा राखेर यो पटकको घोषणापत्र निर्माण गर्ने निर्णय गरेको थियो।
कांग्रेस सहमहामन्त्री परियारले यसको अर्थ कांग्रेसले विगतदेखि पनि काम गर्दै आएको र त्यसमा थप परिमार्जनसहित केही नयाँपन ल्याउने बताए।
‘तीन तहको सरकार छ। तीनै तहका बीचमा सम्मन्वयसहित नयाँ विकासको बाटोमा कसरी अगाडि जान सकिन्छ भन्ने पनि कांग्रेसको घोषणापत्रको एउटा हिस्सा रहनेछ’, उनले भने।
घोषणापत्रमार्फत् कांग्रेसले निर्वाचनपछि पुन: आफ्नो नेतृत्वमा बन्ने सरकारको प्राथमिकतादेखि ऐन, कानुन बारेमा पनि प्रष्ट पार्ने उनले बताए।
यसका साथै कांग्रेसले बनाएको घोषणापत्र तयारी समितिमा मनोयन गरेका सदस्यहरु सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले कांग्रेसको घोषणापत्रमा पनि त्यसको प्रतिबिम्ब झल्कने नेताहरुले दाबी गरेका छन्। महामन्त्री शर्मा नेतृत्वको घोषणापत्र तयारी समितिमा मनोनित ४१ सदस्यमा अर्थशास्त्रीदेखि खेलकुद, मनोरञ्जनसहित विभिन्न क्षेत्रका विज्ञ समेटिएका छन्।
सहमहामन्त्री परियारले कांग्रेसले बनाउन लागेको घोषणापत्रले देशको सबै क्षेत्र, समुदायसहित सर्वाङ्गीन विकासको अवधारणा आममतदातामाझ ल्याउने तयारी गरेको दाबी गरे।
‘जसका लागि हामीले आफ्नो विगतको पनि अध्ययन तथा विश्लेषण गर्छौं। अगामी दिनमा कांग्रेसले लिनुपर्ने बाटो पनि पहिल्याउँदैछौं’, उनले भने, ‘घोषणापत्रको तयारीका लागि हुने बैठक, छलफल र तयारीबारे सञ्चारमाध्यममा जथाभावी नबोल्न पनि सदस्यहरूमाथि कडाइ गरेका छौं।’
घोषणापत्र निर्माणको क्रममा समितिका कामका बारेमा सहमहामन्त्री परियारले मात्रै सञ्चारमाध्यमसँग बोल्न समितिले निर्णय नै गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।