काठमाडौं- नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ।
कांग्रेसको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको बुधबार बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा प्रदीप पराजुलीले बताएका छन्।
समितिका संयोजक एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहेको अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ।
यसैगरी, बैठकले समिति सदस्य डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सदस्यहरु गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा प्रिति मण्डल सदस्य रहेको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको सदस्यसचिव डा पराजुलीले विज्ञप्तिमार्फत् जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।