काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने ‘अस्थायी मतदाता’को नामावली असोज ६ गतेदेखि संकलन सुरु गर्ने भएको छ।
सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा/कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृति लिइ सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्थाअनुरुप आयोगले तयारी गर्न लागेको हो।
अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ।
यसरी अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ। यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ भने मतदान गर्न पाउने छैनन्।
सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा विभिन्न समयमा आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।