काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म सोमबार नै बुझाइसक्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले सोमबार साँझ ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने बताए।
आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमि हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे।
उनले राजनीतिक दलहरुले सोमबार नै सूची बुझाउन नसके मंगलबार बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए। गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाइ थियो।
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि आइतबार र सोमबार दुई दिनको समय दिएको थियो। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौं। तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाहिँ लोकतन्त्रलाई सुदृढीकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं। आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यहीँ बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ।’
निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नाम सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ।
त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। उनका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ। सार्वजनिक भएका नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवार निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ।
निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धी सबै काम अघि बढाउन प्रतिबद्ध भएर लागि परेको पनि थपलियाले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।