काठमाडौं– आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको विवरण बुझाउने पहिलो दिन आइतबार साना पार्टीले मात्रै विवरण बुझाएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ आइतबार २ वटा पार्टी नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले समानुपातिक तर्फको सूची बुझाएका छन्।
यस्तै, प्रदेश सभातर्फ प्रदेश १ का लागि नेपाल खम्बुवान साझा पार्टी, मधेस प्रदेशका लागि तराई मधेसी लोकतान्त्रिक पार्टी र बागमती प्रदेशका लागि तामसालिङ लोकतान्त्रिक पार्टीले मात्रै सूची पेस गरेका छन्।
मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार (असोज २ र ३ गते) समानुपातिक तर्फको बन्दसूची पेस गर्ने समय निर्धारण गरेको छ।
संघीय संसद्मा राष्ट्रिय दलको मान्यता प्राप्त गरेकासहित प्रमुख दलहरुले भने आइतबार सूची पेस गरेनन्। ठूला दलहरुले सोमबार मात्रै आयोगमा सूची पेस गर्ने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।