काठमाडौं- नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची तयार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक उम्मेदवाहरुको बन्दसूची तयार गरेको हो।
एमालेले समानुपातिक उम्मेदवार बनाउन तयार गरेको मापदण्ड केही कठोर थियो। तर, अन्य पार्टीबाट आउने नेताहरुको हकमा भने लचिलो विधि अपनाएको छ।
'हाम्रो मापदण्ड के थियो भने, पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरुषलाई यसपटक समावेश गरेका छैनौँ। दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु, जित्ने जितिहाल्यो, तिनीहरुलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरुलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ', एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।
तर, अन्य पार्टीबाट आएका नेताहरुको हकमा लचिलो भएर निर्णय गरेको उनले बताए। 'अरु विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ', उनले भने।
आइतबार तयार गरिएको सूची सुरुवाती मात्रै भएको उनको भनाइ छ। '१६ गतेसम्म तलमाथि हुनसक्छ। यो सूचीमा भएकाहरुलाई बाहिर निकालेर प्रत्यक्षतर्फ लैजान पनि सक्छौँ। उताबाट यता ल्याउने स्थिति पनि हुनसक्छ। तर, आम रुपमा हेरफेर हुनसक्ने सम्भावना कम छ', उनले भने।
सोमबार आफूहरुले आयोगमा सूची बुझाउने उनले बताए। आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।