काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने भएको छ। पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए।
उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आइतबार नै आयोगमा सूची बुझाइने बताए।
प्रवक्ता सुमनले पार्टीका तर्फबाट प्रतिनिधि सभाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए।
उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो।
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ। लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेको छ।
पार्टीका शीर्षस्त नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ।
सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो। समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट आइतबार र सोमबार आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।