पोखरा– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि ‘लौरो अभियान’ का अभियन्ताहरुले गण्डकी प्रदेशबाट प्रतिनिधि सभा र प्रदेश सभाका पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा गरी १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको पुरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताए। प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्।
प्रदेश सभा सदस्यतर्फ कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क) बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख) बाट नरेन्द्रबहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।
लौरो अभियानका प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताएका छन्। ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरु एक ठाउँमा उभिएका छौं। पूराना राजनीतिक पार्टीहरुलाई हेरि सक्नु भएको छ। अब हामीलाई हेर्नुस्,’ कार्कीले भने।
अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पुराना शक्तिलाई विस्थापित गर्ने बताए। ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं,’ उनले भने, ‘देश भरको माहोल हेर्दा हामी पुराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियन्ता साथीहरुले चाहेको खण्डमा हामी संगठनको रुप दिन पनि सक्छौं।’
उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।