काठमाडौं– प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरु तय गर्न बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको बैठकमा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल भएको नेताहरुले जानकारी दिएका छन्।
यद्यपि उम्मेदवार भने भोलि (आइतबार) तय गरिने उपमहासचिव उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङका अनुसार शनिबार साँझको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुमा छलफल भएको हो।
बैठकमा महासचिव शंकर पोखरेलले ११० जना सिफारिस गनुपर्ने र त्यसको कानुनी व्यवस्था तथा संख्याको बारेमा जानकारी गराएका थिए। उनले प्रदेशगत कलस्टरमा रहने व्यक्तिहरुको नाम प्रदेशगत सिफारिसका बारेमा सामान्य जानकारी गराएको उपमहासचिव गुरुङले बताए।
शनिबारको बैठकमा अछाममा बाढी–पहिरोको घटनाबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बेपत्ताहरुको खोजी, राहत र उद्धारको काम छिटो गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।