काठमाडौं– आज शनिबारदेखि काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ।
महानगरपालिकाको नगर सभाको ११औं अधिवेशनबाट भएको निर्यणानुसार शनिबारदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको हो।
महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
महानगरको नियम उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरले यसअघि नै सार्वजनिक सूचनामार्फत् चेतावनी दिइसकेको छ।
सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।