काठमाडौं– शैक्षिक योग्यतासम्बन्धी नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप लागेका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का इन्सपेक्टर (अनुसन्धान अधिकृत) दोषी ठहर भएका हुन्। इन्सपेक्टर ताराबहादुर कुवँरलाई विशेष अदालतले दोषी ठहर गरेको हो।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलाले कुवँरलाई दोषी ठहर गरेको हो। अर्घाखाँचीमा कार्यरत रहेको बेला कुँवरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
त्यसपछि छानबिन सुरु गर्दा कुँवरले माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट आईए तह उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवामा प्रवेश गरेको खुलेको थियो। अनुसन्धान सहायकमा भर्ना भएका उनी बढुवा हुँदै अनुसन्धान अधिकृतसम्म भएका थिए।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवा प्रवेश गरेको विषय अनुसन्धानबाट खुलेपछि अख्तियारले उनीविरुद्ध २०७५ जेठ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) को कसुर गरेको देखिएको भन्दै सोही अनुसार जरिवाना र कैद सजाय समेत मागदाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त मुद्दाको फैसलामा कुवँर दोषी ठहर भए पनि सजाय निर्धारण हुने बाँकी रहेको विशेष अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।