काठमाडौं– ६ महिनाअघि बंगलादेशको कक्स बजारमा नेपालको राष्ट्रिय क्रिकेट टोली एसिसी इमर्जिङ टिम कपअन्तर्गत पाकिस्तानको युथ–२३ टोली विरूद्ध मैदानमा उत्रिएको थियो । शेख कमाल अन्तर्राष्ट्रिय मैदानमा भएको यो खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ८० रन बनायो।
जवाफमा राम्रो बलिङ गरेको नेपाल विरूद्ध पाकिस्तानका एउटै ब्याट्सम्यान काफी भए । उनले एक्लैले अविजित १ सय ४ रन बनाएपछि नेपाल ४५ दशमलब १ ओभरमा ६ विकेटले पराजित भयो।
नेपाललाई सहजै पराजयन्मुख गराउने यी ब्याट्सम्यान थिए, पाकिस्तानका पूर्व स्टार ब्याट्सम्यान इन्जमाम उल हकका भतिजा इमाम । जसको राम्रो ब्याटिङका कारण पाकिस्तान इमर्जिङ टिम कपको फाइनल पुगेको थियो।
उनै इमाम उल हक २१ वर्षको उमेरमा पहिलो पल्ट पाकिस्तानको एकदिवसीय टिममा अटाउन सफल भएका छन् । उनी युनाइटेड अरब इमिरेट्स (युएई) मा श्रीलंका विरुद्ध हुने एकदिवसीय शृंखलाका लागि १५ सदस्यीय टोलीमा स्थान बनाउन सफल भएका हुन्।
इमामले सन् २०१२ मा मलेसियामा भएको युथ–१९ एसिया कपमा नेपाली युथ टोली विरूद्ध पनि खेलेका थिए । यतिबेला उनी ८ रन बनाएर सागर पुनको बलमा एलबिडब्लुको सिकार भएका थिए।
केही महिनाअघि भारतलाई जितेर च्याम्पियन्स ट्रफीको उपाधि जितेको पाकिस्तानी एकदिवसीय टोलीमा उनको चयनलाई लिएर केहीले प्रश्न उठाएका छन् । काका इन्जमाम मुख्य छनोटकर्ता भएका कारण पनि उनको विषयमा विभिन्न टीका-टिप्पणी उठ्नु जायज हो । तर, इन्जमामले आफ्नो भतिजालाई सम्बन्धका आधारमा नभई क्षमताको आधारमा टिममा स्थान दिएको प्रतिक्रिया दिएका छन्।
इमाम युथ क्रिकेटमा पाकिस्तानका चिरपरिचित नाम हुन् । उनले सन् २०१४ को युथ–१९ विश्वकपमा पाकिस्तानलाई फाइनलमा पुर्याउन एउटा सतक र २ पटक ८० को सहयोगले ३ सय ८२ रन बनाएका थिए । उनी त्यो विश्वकपमा पाकिस्तानबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए।
देब्रे हातका स्टाइलिस ब्याट्सम्यान इमाम इन्जमामका दाजु इसान उल–हकका छोरा हुन् । उनले यसै वर्ष पाकिस्तानको महत्वपूर्ण मानिने कायदे आजम ट्रफीको फाइनलमा हबिब बैकबाट खेल्दै दोहोरो सतक बनाएका थिए । त्यतिबेला उनको खेल हेर्न इन्जमाम आफैं मैदानमा उपस्थित भएका थिए।
इमामले पाकिस्तानी पत्रिकालाई दिएको अन्तर्वार्तामा काका छनोट समितिमा भएकाले आफूलाई सधैं राम्रो खेल्ने दबाव रहने गरेको प्रतिक्रिया दिएका छन्।
उनलाई पाकिस्तानका उदीयमान ब्याट्सम्यानको रुपमा हेरिएको छ । इमाम सानो छँदा आफ्ना काका इन्जमाम जस्तै मोटो थिए । क्रिकेटभन्दा ब्याडमिन्टन खेल्न सौख राख्ने इमामको क्रिकेट यात्रा २०१० देखि सुरु भएको हो । उनी आफ्नो स्कुलको ब्याडमिन्टन च्याम्पियन पनि हुन्।
‘काका (इन्जमाम) मलाई तेरो खुट्टा छिटो छ भन्नुहुन्छ’, पाकिस्तानी अखबारलाई केही समयअगाडि इमामले दिएको अन्तर्वार्तामा भनेका छन्।
सन् २०१२ मा मलेसियामा भएको युथ–१९ एसिया कपमा डेब्यु गर्ने क्रममा भारत विरुद्ध उनले पहिलो खेलमै ८८ रन बनाएका थिए । यसपछि उनको ब्याटिङको चर्चा चलेको थियो । त्यो प्रतियोगिताको ७ खेलमा उनले ४ वटा अर्धसतक बनाएका थिए।
इमामको सपना छ, आफ्नो काका इन्जमामले सन् १९९२ को विश्वकप पाकिस्तानलाई दिलाउन जुन स्तरको ब्याटिङ गरेका थिए, त्यसलाई निरन्तरता दिने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।