काठमाडौं– आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गरेको छ। पहिलो चरणमा आयोगले प्रदेश सभाको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
‘प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छापिन सुरु भएका छन्। सातवटै प्रदेशमा फरकफरक दल रहेकाले छुट्टाछुटै मतपत्र हुन्छन्,’ नेपाल लाइभसँग कुरा गर्दै अर्यालले भने, ‘प्रदेश सभाको समानुपातिका लागि करिब २ करोड मतपत्र छापन्छिन्।’
प्रदेश सभाको समानुपातिकको छपाइ सकिएपछि प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने अर्यालले बताएका छन्। समानुपातिकको मतपत्र छपाइ सकिएपछि आयोगले क्रमश: प्रदेश सभाको प्रत्यक्ष र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्ने सहायक प्रवक्ता अर्यालले बताए।
‘प्रदेश सभाको सकिएपछि प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुन्छ। त्यो सकिँदा नसकिँदै प्रदेश सभाको प्रत्यक्षतर्फको र सँगै प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुन्छ,’ अर्यालले भने, ‘प्रदेश सभाको समानुपातिक र प्रत्यक्ष, त्यस्तै संघको समानुपातिक र प्रत्यक्ष गरेर करिब ८ करोड आसपास मतपत्र छापिन्छन्।’
प्रदेश सभाको निर्वाचन क्षेत्र ३३० रहेकोले मतपत्र पनि त्यतिनै किसिमका र प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र रहेकोले १६५ किसिमकै मतपत्र हुने अर्यालले जानकारी दिए। निर्वाचनको मतपत्रको छपाइको जिम्मा जनक शिक्षा सामाग्रीलाई दिइएको अर्यालले बताए।
मतपत्र छपाइका लागि करिब २ महिना लाग्ने अनुमान गरिएको छ। अर्यालले दिएको जानकारी अनुसार मतपत्रको छपाइ कत्तिक २६/२७ सम्ममा सकिने आयोगको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।