काठमाडौं– काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व बुझाएका छन्।
महानगरले केही समयअगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेको थियो। तर, हालसम्म ९ वटा संस्थाले मात्रै महानगरलाई कर बुझाएको महानगरको राजश्व विभागले जनाएको छ।
महानगरलाई कर बुझाउनेमा काठमाडौं फन पार्क, डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइम इन्टरटेन्मेन्ट एण्ड रिक्रीयसन, बाल्को क्यासिनो, बेलिज क्यासिनो, रोयल क्यासिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन्। ती ९ संस्थाहरुले मात्रै महानगरलाई ८४ लाख ३४ हजार ३६३ रुपैयाँ राजश्व बुझाएका छन्।
महानगरले पछिल्लो समय कर तिर्न बाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेको थियो। महानगरका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो। महानगरले भदौ १५ देखि २३ गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो।
महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घण्टाभित्र कर बुझाउन भदौ १६ गते पत्र काटेको थियो। उक्त पार्कले त्यसको भोलिपल्टै महानगरलाई १७ लाखभन्दा बढी कर मनोरञ्जन कर बुझाएको थियो।
यस्तै, महानगरले भदौ १९ गते एक हप्ताभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरुलाई पत्राचार गरेको थियो। ती संस्थाहरुले टिकटको ५ प्रतिशत कर महानगरलाई बुझाउनु पर्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।