काठमाडौं– दिगो विकासको लक्ष्य प्राप्तिका लागि ग्रिड अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘दिगो पूर्वाधार लगानी फोरम’ आयोजना गर्न लागिएको छ। लगानी बोर्ड नेपालको अगुवाई तथा संयोजनमा यही भदौ २९ गते काठमाडौंमा उक्त सम्मेलन गर्न लागिएको हो।
नेपालले विश्व जलवायु सम्मेलन (कोप-२६)मा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि गरेको प्रतिवद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने बोर्डले अपेक्षा गरेको छ। कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरू, विकास एवं पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट हुने कार्यक्रमको उद्घाटनपछि सार्वजनिक-निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, संभाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूका बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुने जनाइएको छ।
रणनीतिक योजना तथा लगानी कर्ताका लागि व्यवसायिक निर्देशिका (बिजनेस गाइड) सार्वजनिक गरी गत वर्ष बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनका चरणमा रहेको सन्दर्भमा कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।