काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट गर्दा कांग्रेसले १०० सिट लिनुपर्ने धारणा दोहोर्याएका छन्। आइतबार मोरङमा आयोजित कार्यक्रममा उनले ७०/८० सिट लिएर कांग्रेसको बहुमत नआउने बताए।
‘७०/८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन। त्यसैले मैले भनिरहेको छु, १०० सिट नेपाली कांग्रेसले लिनुपर्छ। अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौँ’, उनले भने।
कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय सबैले पालना गर्न जरुरी रहेको उनले बताए। ‘हामी गठबन्धनमा जाने र त्यो गठबन्धनले नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने भनिएको छ’, उनले भने, ‘भारतमा छ नि त, बीजेपीको गठबन्धन छ तर बीजेपीको सरकार छ। गठबन्धन हुन्छ, दुई चार जना मन्त्री पनि दिएको हुन्छ।’
कोइरालाले उम्मेदवार सिफारिसका लागि कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताबीच नै मारपिट भइरहेको भन्दै असन्तुष्टि जनाए। ‘लाग्छ कि, टिकट क्षेत्रले बाँडिरहेको छ। यो पनि थाहा छैन कि उनीहरूलाई, भोलि त्यो क्षेत्र अर्को पार्टीले लिन्छ कि। मारपिट आफ्नै बीचमा गरिरहेका छन्। किन भएको भने, गठबन्धनले हामीलाई जिताउँछ भन्ने साथीहरूलाई परेको छ। मलाई छैन’, उनले भने।
कोइरालाले केही दिनअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको प्रसंगबारे पनि चर्चा गरेका थिए। उनले एउटा नेताले अर्को नेतालाई भेट्नुहुँदैन भनेर कहीँ पनि नलेखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।