सुर्खेत– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन शाखा सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान संविधानअनुसार देशमा कुनैपनि दलको एकल सरकार बन्ने सम्भावना कम रहेको र स्थिर सरकारसँगै विकासलाई तीव्र गति दिन गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक रहेको बताए।
निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो स्थिर र विकासलाई गति दिन सक्ने सरकार हुने उनले बताए । संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन आवश्यक भएको गौतमको भनाइ छ ।
गौतमले कांग्रेस पार्टीभित्र केही असमझदारी रहेको भन्दै लोकतान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताए। सुर्खेतका सन्दर्भमा पनि विगतका तीतामीठा अनुभवलाई आत्मसात् गर्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
उनले सुर्खेत–तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक छिट्टै निर्माण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।