काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नभएको टिप्पणी गरेका छन्।
शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन्। नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै दुई वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताए।
सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रलाई पार्टी टिकाएर देखाउन चुनौती दिए। उनले देश विकासका लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने उल्लेख गरे।
उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गर्नुभयो। २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए।
सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि नलागी सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे। देश विकास गर्न पुराना कांग्रेस र कम्युनिस्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरूले कुनै काम गर्न नसक्ने जिकिर गरे।
नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए। उनले जनताको बहुमत पाउँदा समेत कम्युनिस्ट पार्टीहरूले संघीयताका कानुन नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए।
नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश विकास गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।