पाेखरा– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा माओवादी केन्द्रसँग कार्यगत एकता मात्र हुने बताएका छन्।
पार्टीनिकट समाजवादी प्रेस संगठनले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे। चुनावअघि पार्टी एकता सम्भव नभएको उनको भनाइ छ।
उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिस्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।
सत्ता गठबन्धनका दलकाबीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुंगो लाग्ने उनले बताए।
नेता खनालले, उनकै शब्दमा, राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।