ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकांक्षाअनुसारको विकासले मात्र दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिवद्ध रहेको बताएकी छन्।
ललितपुर महानगर–२२ स्थित महर्जन समाजको २५औं वार्षिक साधारणसभा शुक्रबार उद्घाटन गर्दै उनले भनिन्, ‘जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।’
आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल गरेको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताइन्।
नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उनले बुङ्मतीका हरेक घरमा एक कोठा होमस्टेका लागि छुट्याउन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।