काठमाडौं- आगागी मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सेयर बजारमा चिनिएका कतिपय अनुहारहरु पनि प्रतिस्पर्धीका रुपमा देखिने भएका छन्।
चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्न थालेको छ। तीमध्ये केही स्वतन्त्र र केही दलीय उम्मेदवारकै रुपमा अघि बढ्ने तयारी गरिरहेका छन्।
सेयर लगानीकर्ता ताराप्रसाद फुल्लेल लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका छन्। उनी नेपाली कांग्रेस अर्घाखाँचीबाट प्रदेश सभा ‘क’ का लागि उम्मेदवार सिफारिस भएका हुन्। कांग्रेस अर्घाखाँचीले आफूलाई उम्मेदवारका पार्टी केन्द्रमा सिफारिस गरेको उनले नेपाल लाइभलाई बताए।
सेयर बजारमा लामो समय अनुभव संगालेका फुल्लेल सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष समेत हुन्। उनी पुँजीबजार सुधारका हरेक अभियानमा सक्रिय देखिन्छन्।
सेयर बजारका लगानीकर्ता हरि ढकालले सबैभन्दा पहिला प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका थिए। पर्यावरण जोगाउने अभियानलाई मुख्य अजेण्डा बनाएर ढकालले चितवन–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
सेयर लगानीकर्ता तथा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छिन्। उनले काठमाडौं- ४ बाट चुनाव लड्ने तयारी थालकी हुन्। टिकट पाए आफू कार्यकर्ता रहेको नेकपा एमालेबाट र नपाए स्वतन्त्रबाटै भए पनि उम्मेदवारी दिने तयारी थालेको उनले नेपाल लाइभलाई बताइन्।
पोखरेल भन्छिन्, ‘मैले अजेण्डाको रुपमा केही सार्वजनिक नै त गरेको छैन। तर, चार वर्षसम्म मैले एउटा संस्थाको नेतृत्व गरेँ। त्यसैले नेतृत्वमा मेरो अनुभव छ। मैले सेयर बजारको सुधारको लागि पहलहरु पनि गरेको छु। तर, त्यसलाई पूरा गर्न नियमक निकायहरुले वर्षौंसम्म लगाउने गर्छन्। यदि मैले यो निर्वाचनमा जितेर आएँ भने सर्वप्रथम सेयर बजारको नीतिगत सुधारमा काम गर्ने छु।’
निर्वाचनमा आफूले जित्नसके कतिपय पिछडिएर रहेका महिलालाई रोजगारी तथा उद्यमशीलताको बाटोमा अगाडि बढाउने आफ्नो योजना रहेको पोखरेले बताइन्।
यसैगरी, रोहन कार्कीले काठमाडौं- २ बाट स्वतन्त्र उम्मेदवारीमा घोषणा गरेका छन्। उनले हरेक तहमा भएका विकृति र समस्याहरु सुधार गर्दै जाने र देशको अर्थतन्त्र उकास्न कृषि, पर्यटन लगायत स्वदेशी उत्पादनलाई प्राथमिकतामा दिने कुरा अजेण्डामा समेटिने बताए।
कार्की भन्छन्, ‘शिक्षा, स्वस्थ्य लगायत पूर्वाधार विकासमा धेरै परिवर्तन गर्नु छ। पुँजी बजारको सुधार, विस्तार तथा लगानीकर्ताको हकहितका कुरालाई मुख्य एजेन्डा बनाएको छु।’
उनले हरेक तहमा भएका विकृति र समस्याहरु सुधार गर्दै जाने र देशको अर्थतन्त्र उकास्न कृषि, पर्यटन लगायत स्वदेशी उत्पादनलाई प्राथमिकतामा दिने कुरा अजेण्डामा समेट्ने जानकारी दिए।
यसैगरी, व्यवसायी तथा लगानीकर्ता नयन बास्तोलाले भक्तपुर- १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले पनि स्वतन्त्र हैसियतमा निर्वाचन लड्ने तयारी थालेका हुन्।
सेयर बजारका अर्का लगानीकर्ता विनोद बजगाईंले काठमाडौं- २ (क) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।