काठमाडौं– एक आईटी कम्पनीका सिईओ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सुन्दर जिनिज सोलुसन प्रालिका सिईओ प्रशन्न पोखरेललाई पक्राउ गरेको हो।
५० वर्षीय पोखरेललाई ब्यूरोको टोलीले बत्तिसपुतली काठमाडौंबाट पक्राउ गरेको हो। भदौ २१ गते पक्राउ परेका उनलाई अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्यादसमेत लिएको छ।
सुन्दर ग्रुप अफ कम्पनीज प्रालिको वेब पोर्टल र डाटाहरु आईटी कम्पनी जिनिजमार्फत होस्टिङ हुँदै आएको थियो। सोही क्रममा जिनिजले अनधिकृत रुपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डाटाहरु नष्ट गरेको भन्दै सुन्दर ग्रुपले साइबर ब्यूरोमा जाहेरी दिएको थियो।
जाहेरी आएपछि प्रहरी अनुसन्धानका क्रममा जिनिजका सञ्चालक पोखरेलको भूमिका शंकास्पद देखिएपछि उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।