काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्। उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा गठबन्धन लागिरहेको पनि बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए। उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्शाको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए।
‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने, आँच पुर्याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ ।' उनले भने, 'यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । यस्ता कुराहरु जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने, कुरा के हो यो ?’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक
छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए। उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए। उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे।
'संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्ने कुरा जुन किसिमले गरिएको छ, त्यसलाई बाटो खोलिएको छ, यो खेद जनक छ, राष्ट्र हितविपरीत छ । हाम्रो स्वाभिमानविपरीत छ । नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ । सत्ता टिकाउने, सरकारमा बस्ने नाममा प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु भएका छन् । जसको निन्दा र भर्त्सना गर्नुपर्दछ ।’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।