काठमाडौं– आर्मी, प्रहरी र समाज कल्याण परिषदको केन्द्रीय कार्यालयले महानगरलाई कर नतिरेको पाइएको छ। महानगरले आज नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद, नेपाल प्रहरीको केन्द्रीय कार्यालयलाई बहाल कर बझाउ पत्र काटेको हो।
‘आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटकपटक ताकेता हुँदै आएको छ। तर हालसम्म पनि नबुझएको हुँदा त्यहाँको बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउनुहुन अनुरोध छ।’ उक्त पत्रमा थप भनिएको छ।
तोकिएको समयभित्र कर नबुझाए कानूनबमोजिम कारबाही हुने पनि स्पष्ट पारिएको छ। ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ’ पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।