काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसाले टिकट किन्नेहरुको मूल्यांकन बढी हुँदै गइरहेको बताएका छन्।
बीपी कोइरालाको स्मृतिमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले सांसद बन्न टिकट खरिदबिक्री हुन थालेको समेत बताए।
उनले भने, ‘बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई छैन। टिकट किनेर पार्टीमा प्रवेश गर्छन्। पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको छ।’
समानुपातिकबाट सांसद बन्न टिकट खरिद–बिक्रीको चलखेल हुने गरेको उनले बताए। डा यादवले कांग्रेसीको पुर्खालाई बिर्सिएर जनतासमक्ष जान अरु पार्टीसँग अंशबण्डा गर्नु लज्जाको विषय भएको समेत बताएका छन्।
उनले भने, ‘बीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता महापुरुषको नाम सुन्दै गद्गद् हुन्छ तर अहिले देशको अवस्था कस्तो छ ? बीपीको एक गुण पनि हामीमा छैन। कांग्रेसीमा त हुनैपर्ने हो नि, हामी कोहीमा पनि छैन । कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेका छौं हामी।’ उनले अहिले कांग्रेसलाई ‘राम, राम’ भन्ने बेला भइसकेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।