काठमाडौं– काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायका भवनको नक्सा ९० दिनभित्र पेस गर्न भनेको छ।
महानगरपालिकाले मापदण्ड अनुसार बनेका तर, नक्सा पास नभएका संरचनाको नक्सा ९० दिनभित्र पेस गरि स्वीकृत/नियमित गर्न भनेको छ।
‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ’, महानगरले बिहीबार जारी गरेको सूचनामा भनिएको छ।
काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर, नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गर्ने नीति पारि भएको थियो। सोही नीति कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरपालिकाको निर्णय बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।