काठमाडौं– निर्णायक छलफल भनी बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा कुरा मिल्न नसक्दा असहमतिको प्रतिवेदन नै शिर्ष नेताहरुलाई पेश गरिने भएको छ।
कार्यदलको बैठकमा सहभागी एक नेताका अनुसार सबै दलहरु आ-आफ्नै अडानमा देखिएका छन्। नेपाली कांग्रेसले १०० सिटवाट ९० मा झरेको छ भने माओवादी केन्द्रले ६०-५० को बिचमा चाहिने अडान रहेको छ।
त्यस्तै माधव नेपालको नेतृत्वमा रहेको एकिकृत समाजवादी पार्टीले कम्तिमा ३० सिट पाउनुपर्ने दाबी गरेको छ। जसपाले पनि सोही अनुपातमा पाउनुपर्ने अडान राखेको छ।
यस्तै, जनमोर्चाले प्युठान र बाग्लुङमा दुई क्षेत्र चाहिने दाबी पेश गरेको ती नेताले बताए। बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने करिबकरिब सहमति भएको र बिहान ९ बजेदेखि प्रतिवेदन लेखन शुरु हुने बताएका थिए। सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सार्वजनिक रूपमा सहमतिनजिक पुगेको बताएपनि अवस्था त्यस्तो नरहेको कार्यदलका नेताले बताए।
‘सबै दल संख्यामा दाबीबाट वरपर भएका छैनन्। व्यक्ति व्यवस्थापनमा पुग्दा छलफल झन् सकसपूर्ण बनेको छ’ ती नेताले भने ‘शीर्ष तहमै टुंग्याउने गरी प्रतिवेदन बन्न सक्छ।’ भोलि बिहान एकपटक अन्तिम कोसिस गर्ने र सहमति हुन नसकेमा त्यसैमा टेकेर प्रतिवेदन लेख्दै शीर्ष तहमा पठाउने तयारी कार्यदलले गरेको छ।
एक महिनादेखि चलेको छलफलमा सहमति हुन नसकेपछि यस्तो तयारी कार्यदलले गरेको हो। असोज २ गते निर्वाचन आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने समय तोकेकाले त्यसअघि सिट बाँडफाँटको सकस टुंग्याउनुपर्ने दबाबमा रहेको छ।
प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरुले सिट बाँडफाँट टुंग्याउन निरन्तर बैठक बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।