काठमाडौं– सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि आज प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ।
साढे ५ बजेदेखि बैठक बसेको बैठक केहीबेर अघिमात्र सकिएको हो। बैठकपछि संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकिएको जानकारी दिँदै प्रतिवेदन लेख्ने विषयमा प्रवेश गरेको बताएका छन्। बैठक सहमतिनजिक पुगेकाे उनकाे भनाइ छ। उनले प्रतिवेदन लेखेर भोलिनै पार्टी शीर्ष नेताहरुलाई बुझाउने बताए।
सञ्चार मन्त्री कार्कीले सार्वजनिक रूपमा सहमतिनजिक पुगेकाे बताएपनि अवस्था त्यस्ताे नरहेको कार्यदलका एक नेता बताउँछन् । उनले भने, `सबै दल संख्यामा दाबीबाट वरपर भएका छैनन्। व्यक्ति व्यवस्थापनमा पुग्दा छलफल झन् सकसपूर्ण बनेकाे छ। शीर्ष तहमै टुंग्याउनेगरी प्रतिवेदन बन्न सक्छ।´
तर स्रोतका अनुसार आजको बैठकले सिट बाँडफाँटबारे कुनै निष्कर्ष निकाल्न सकेन। प्रतिनिधिसभा र प्रदेशसभातर्फका सिट कहाँ कसले लिने भन्ने विषयमाथिको छलफल नै जटिल बनेको र त्यसमा सहमति जुटाउनै मुश्किल भएपछि भोलि बिहीबार बिहान ९ बजे फेरि बस्ने गरी बैठक टुंग्याएको स्रोतले बतायाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।