काठमाडौं- महासचिवका लागि दाबेदारी प्रस्तुत गरेका माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा पार्टीभित्रको प्रतिस्पर्धा पेचिलो हुँदा उपमहासचिवमा थन्क्याइए। उपमहासचिव बनाइएपछि असन्तुष्ट शर्माले सार्वजनिक कार्यक्रममै उक्त पद अस्वीकार गरेका छन्।
बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित अनेरास्ववियुको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा उनले आफू उपमहासचिव नभइ संगठन विभागका तर्फबाट धारणा राख्ने बताए। जुन कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए।
मञ्चमा उक्लिँदै गर्दा कडा स्वभावका शर्माले भावुक हुँदै केही लाइन सुनाए:
नबजाउ ताली मलाई तालीदेखि डर लाग्छ
नगर गाली गालीदेखि दु:ख लाग्छ
सक्छौ भने आलोचना गर मलाई त्यसले रक्षा गर्छ
उनले त्यहाँ उपस्थित अर्का उपमहासचिव लिलामणि पोखरेललाई पनि ६ जनामध्ये एक उपमहासचिवज्यू भन्दै व्यंग्यात्मक सम्बोधन गरे।
रक्षा गर्ने विषयमा सवाल-जवाफ
अध्यक्ष प्रचण्डको आफूले रक्षा गरे पनि त्यसको प्रतिफल नपाएको गुनासो शर्माले गरे। कसैले बहकाएर आफूले महासचिव नपाएको संकेत गर्दै भने, 'हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन। स्वार्थपूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले। म नीति र नेतृत्वलाई सधैंभरि रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो। नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।'
आफू अध्यक्ष प्रचण्डको कडा आलोचक पनि रहेको बताउँदै सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे आफू नै रहेको दाबी गरे। त्यही मञ्चबाट प्रचण्डको जवाफको अपेक्षा गरे। 'पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन। नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ। म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ, आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा गर्छ, चाकडीले होइन।'
जनार्दनले जवाफको अपेक्षा गरेपछि प्रचण्डले त्यसको सम्बोधन गरे। शर्माको रक्षा गर्नुका साथै आफैंले हुर्काएकोसमेत प्रचण्डले बताए। उनले भने, 'जनार्दनले जाँदाजाँदै नीति र नेतृत्वको रक्षाको कुरा गर्नुभयो। जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो।'
अबको आफ्नो सपना राम्रो उत्तराधिकारी तयार गर्ने रहेको बताउँदै आफूलाई पुगिसकेको बताए। उनले थपे, 'मैले जनयुद्ध तयारी र जनयुद्धको नेतृत्व गरेँ। संविधान सभाको नेतृत्व गरेँ। लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरेँ। मेरो लागि धेरै चिज भएकै छ। मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन्। सम्पूर्ण उदारताका साथ अघि बढुन्। यही मेरो सपना छ।' आफ्नो विरासत र क्रान्तिकारी परम्परा अघि बढाउने उत्तराधिकारी चाहिएको उनले बताए।
महाभिडन्तले गुमेको महासचिव
माओवादीमा भूमिकाका हिसाबले अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो। महासचिव नै भावी पार्टी नेतृत्वमा पुग्ने हुनाले प्रभावशाली नेताहरुले यो पदमा दाबी गरेका थिए।
सुरुदेखि नै महासचिवका लागि सवैभन्दा तीव्र लविइङ वर्षमान पुन र जनार्दन शर्माको रह्यो। तर, पुन र शर्माबीचको टक्कर यति चर्को देखियो कि प्रचण्ड विकल्प खोज्न बाध्य भए। उनीहरुमध्ये एकलाई महासचिव बनाउँदा अर्कोलाई व्यवस्थापन गर्न सहज नहुने निचोडमा अध्यक्ष प्रचण्ड पुगे।
त्यसपछि देव गुरुङ महासचिव बने। ‘महासचिव पदका लागि आधा दर्जन नेताहरुले आकांक्षा राख्नुभएको छ। त्यसमध्ये पुन र शर्मा नै जब्बर दाबेदार हुनुहुन्छ,’ पदाधिकारी चयनअघि एक केन्द्रीय सदस्यले भनेका थिए, ‘यदि पुन र शर्मा नै एकापसमा भिड्न थाल्ने हो भने अध्यक्ष कमरेड दोस्रो विकल्पमा जाने देखिन्छ। त्यसो हुँदा गुरुङ, बस्नेत, भुसाल वा कृष्णबहादुर महरासमेत विकल्पमा आउन सक्नुहुन्छ।’
नेता गुरुङले पुन र शर्माको लडाइँका कारण पार्टी महासचिवका लागि आफूलाई प्रस्ताव आएको त्यसअघि नै संकेत गरिसकेका थिए। ‘अहिले नेता वर्षमान पुन र जनार्दन शर्माले महासचिवका लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। दुई जनाबीच सहमति जुट्न नसकेको अवस्थाका लागि मेरो नाम महासचिवमा प्रस्ताव आएको छ,’ गुरुङले भनेका थिए, ‘हालसम्म पार्टीका कुनै पदमा दाबी गरेको छैन। सहमतिमा महासचिव बन्ने प्रस्ताव आए अस्वीकार गर्दिनँ। तोकिएको जिम्मेवारी पूरा गर्न तयार छु।’
कुनै पदमा दाबी नगरेका गुरुङ महासचिव बनाइएपछि तीव्र आकांक्षा पालेका शर्मा असन्तुष्ट छन्। माओवादी केन्द्रको बैठकमा असन्तुष्टि पोखिसकेका शर्माले बुधबार सार्वजनिक मञ्चबाटै आफ्नो धारणा दोहोर्याएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।