काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री तथा पार्टीका उपमहासचिव जनार्दन शर्माको आफूले 'रक्षा गरेको' बताएका छन्।
पार्टीको विद्यार्थी संगठनले क्रान्तिकारी फोर्स गठन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'जनार्दनले जाँदाजाँदै नीति र नेतृत्वको रक्षाको कुरा गर्नुभयो। जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो।'
अबको आफ्नो सपना राम्रो उत्तराधिकारी तयार गर्ने रहेको उनले बताए। उनले थपे, 'मैले जनयुद्ध तयारी र जनयुद्धको नेतृत्व गरेँ। संविधान सभाको नेतृत्व गरेँ। लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरेँ। मेरो लागि धेरै चिज भएकै छ। मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन्। सम्पूर्ण उदारताका साथ अघि बढुन्। यही मेरो सपना छ।'
उनले आफ्नो विरासत र क्रान्तिकारी परम्परा अघि बढाउने उत्तराधिकारी चाहिएको बताए। उपस्थित विद्यार्थी नेतालाई उनले जनतालाई अर्को आन्दोलनतर्फ उत्प्रेरित गर्न अघि बढ्न निर्देशन दिएका छन्।
'हामीले संविधान सभाबाट संविधान बनाउँदै रिजर्भेसन राखेका छौं। जे जति विसंगति र विकृति देखिरहेका छौं, त्यसलाई सुधार्ने अभियान पनि थालेका छौं। तपाईंहरु गाउँ-गाउँ पुगेर नयाँ चेतनाको विकास गर्नुहोस्। जनतालाई अर्को आन्दोलनतर्फ उत्प्रेरित गर्नुपर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।