काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्मचारीको सरुवा बढुवा गरेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अहिले निर्वाचनलक्षित गर्दै सरकारले प्रहरी, कर्मचारी देखि स्थानीय तहसम्म सरुवा गरेको आरोप लगाए। उनले यसरी सरुवा भएर जाने कर्मचारीहरुलाई चेतावनी दिँदै कुनै एक दलको पक्षमा काम गरेमा एमाले चुप लागेर नबस्ने बताए।
निर्वाचन घोषणा गरेपछि सरकारले दीर्घकालीन महत्त्वका कतिपय निर्णय गर्न नमिल्ने तर अहिलेको सरकारले गरिरहेको भट्टराईको आरोप छ।
‘आसन्न निर्वाचन प्रभाव पार्नेगरी प्रहरी, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने काम सरकारले गरिरहेको छ’, उनले भने, ‘वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आस्थाका आधारमा चरम दमन गरिएको थियो। अब पनि यस्तै हुनसक्नेतर्फ सचेत छौं। त्यसमा नेकपा एमाले चुप लागेर बस्दैन।’
जनताले स्वतन्त्रपूर्वक निर्वाचनमा भाग लिने र आफूले चाहेको मानिसलाई मतदान गर्न नदिने कार्य भएमा एमाले त्यसै नबस्ने उनको चेतावनी छ।
‘कुनै एउटा दलको आस्था बोकेर जानेहरुलाई एमालेको चुनौती छ, हामी चुप लागेर बस्नेवाला छैनौं’, उनले भने, ‘कुनै पनि अवस्थामा एमाले प्रतिवाद गर्नेछ। त्यसैले सबै सरुवा नगरेर मंसिरसम्म उनीहरु रहेकै स्थानमा कायम गर्न आग्रह गर्छु।’
त्यस्तै, उनले थुनामा रहेका अपूर्ण क्षतिज सिंहलाई तत्काल रिहाइ गर्न पनि माग गरे। उनले हास्य व्यंग पोस्ट फेसबुकमा राखेवापत थुनामा राख्न नमिल्ने भन्दै सिंहले माफी समेत मागेको अवस्थामा तत्काल रिहाइ गर्नुपर्ने बताए।
‘हुन त मन्त्रीहरुलाई कर्के नजर हेरेमा पनि गार्ड पक्राउ पर्ने अहिलेको अवस्था छ’, भट्टराईले भने ‘तर, कसैको आलोचना गरेकै भरमा थुनामा राख्न भने मिल्दैन।’ भट्टराईले कलाकारमाथि कुनै प्रकारको दमन नगर्ने आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।