काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन्।
बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको दुर्गति के कारणले भएको हो भन्ने पहिल्याउन आवश्यक रहेको समेत बताए। प्रधानमन्त्री देउवाले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए।
कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे।
उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने टिप्पणी गरे। उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए। अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए। उनले देश विकासका लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।