काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले बैठक बोलाएको छ।
बलात्कार जस्तो गम्भीर आरोप लागेपछि त्यस विषयमा क्यानले छलफल सुरु गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अहिले पनि छलफल भइरहेको बताए।
उनका अनुसार अहिले सामाजिक सञ्जाल जुममार्फत् छलफल भइरहेको छ। ‘अहिले पनि हामी जुम मिटिङमा छौं। सन्दीपको बारेमा आएका समाचारमाथि हाम्रो चासो भएकाले त्यसको सत्यता के हो अब कसरी अघि बढ्ने भन्ने छलफल गर्दैछौं’, चन्दले नेपाल लाइभसँग भने।
उनीमाथि लागेको आरोपको किनारा नलागेसम्मका लागि क्यानले निलम्बनसमेत गर्नसक्ने अवस्था रहन्छ। निलम्बन भएको अवस्थामा सन्दीपले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु गुमाउनेछन्।
सन्दीप हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसियामा छन्। मंगलबार १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
भदौ ५ गते राति काठमाडौंको एक होटलमा राखेर लामिछानेले आफूमाथि बलात्कार गरेको किशोरीको भनाइ छ। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ। सन्दीपले उक्त आरोपबारे अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।