काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यकाल सम्हालेको एक सय दिनको काम सार्वजनिक गरेकी छन्।
बुधबार उनले आफ्नो सय दिनको कामको श्वेतपत्र सार्वजनिक गरेकी हुन्। सय दिनको कामबारे उल्लेख गर्दै उनले धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौँ महानगरमा रहेको बताएकी छन्। उनले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट आफूहरुलाई नभएको स्पष्ट पारेकी छन्।
‘धेरैले विश्वास र भरोसा गरेको युवा नेतृत्वहरु अहिले काठमाडौँ महानगरमा छन्। त्यसैले हामीले गल्ती गर्ने र दोष अरुमाथि नै थुपारेर उम्किने छुट पटक्कै छैन।’ उनले भनेकी छन्, ‘म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगत भन्दा पनि सहकार्य, सहमति र सह अस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु।’
आफूले विकासका लागि ८ खम्बे मोडल समेटेको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णता दिने पहिलो प्रयास रहने बताएकी छन्।
‘मैले मेरो ८ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं लगायतका विषय समेटेकी थिएँ। नीति तथा कार्यक्रम र बजेटमा लगभग यी सबै विषयहरुलाई समावेश गरेका छौँ जुन कार्यान्वयनको चरणमा रहेको छ।’ उनले भनेकी छन्, ‘त्यसैले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका कुरालाई पूर्णता दिने मेरो पहिलो प्रयास रहने छ। यसका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा पनि गरेकी छु।’
उपमेयर डंगोलले आफ्नो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मक कार्यहरु भन्दै १५ बुँदामा कामबारे उल्लेख गरेकी छन्।
उपमेयर डंगोलले सार्वजनिक गरेका सय दिनका कामः
१) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१वटा विवादको किनारा
नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ। नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ।संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशी भएका मुद्धामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी५१ वटा विवाद किनारा लागेको छ।




२) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल
महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन्। पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ।
३) वडास्तरीय महिला सेल गठन
पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकी थिएँ। सोही बमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ।
४) सय दिन महानगरवासी सँगसँगै
विभिन्नसंघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममासहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो। त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ।
५) आर्थिक वर्ष०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार
म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ।
६) मेलमिलापकर्ता छनौट प्रक्रिया
विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताहरुको सूचि तयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूचि कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ।
७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास
मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६,७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ। बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ।
८) शिक्षा क्षेत्रमा सुधार
शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको छ।
९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण
नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरणगर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन्। त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुथिहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं।
१०)नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य
स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेकोछ।
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता
कार्यविधि २०७९÷०३÷१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभाग मातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजना मध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ। त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ। सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन्। हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्नेलगायतका काम पनि यो विचमा भएका छन्।
१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन
राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धि नीति तर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेश गरियो। आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्व प्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समिति मार्फत नगरसभामा पेश गरी स्वीकृत भए वमोजिम कान्यान्वयनमा आइसकेको छ।
१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार
काठमाडौँमहानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ।
१४) अपाङ्गता परिचयपत्र वितरण
काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ। जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएरउक्त परिचयपत्र वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्मलगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ।
१५) सहरी व्यवस्थापन
महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।