काठमाडौं- भारतमा एक सातादेखि थुनामा रहेका सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन्।
जिल्ला सत्र न्यायालयको आदेशले देवनारायण र अजय जेलमुक्त भएका हुन् । आफ्नै बुहारीलाई अपहरण गरेको मुद्दामा भारतीय सुरक्षाकर्मीको हिरासतमा रहेका यादवलाई उनका ज्वाइँको जिम्मा लगाएर रिहा गरिएको जानकारी प्राप्त भएको छ।
सप्तरीका प्रहरी उपरीक्षक मुकेश सिंहले देवनारायण र छोरा रिहा भएको जानकारी पाए पनि आफ्नो सम्पर्कमा आइनसकेको बताए । सिंहले नेपाल लाइभसँग भने, 'रिहा भएको खबर पाएका छौं, सम्पर्कमा आइसकेका छैनन्।'
सरकारले गृह मन्त्रालय र विदेश मन्त्रालय मार्फत यादवको रिहाइको पहल गरे पनि भारतीय कानुन अनुसार एफआइआर दर्ता भएकाले मुद्दा अदालतमा पुगेको थियो ।
अपहरणमा परेकी भनिएकी बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीसले रिहा गर्न आदेश दिएका थिए । उनले आफूले अजयसँग राजीखुसी भागी विवाह गरेको र खुसीसाथ जीवनयापन गरिरहेको बयान दिएकी छन्।
देवनारायणकी बुहारी ज्योतिका परिवारलाई नाबालिग छोरी अपहरण गरेर विवाह गरेको एफआइआर दर्ता गर्न लगाएर भारतीय पक्षले अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई असोज १५ मा पक्राउ गरेको थियो।
भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका देवनारायणका छोरासहित तीन जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर अन्यलाई छाडे पनि अजयलाई छोडेको थिएन। छोरा अजयलाई छुटाउन गएका देवनारायणलाई समेत प्रहरीले हिरासतमा लिएको थियो।
सीमारक्षा आन्दोलनका अभियन्ता सप्तरी कोइलाडी तिलाठी–२ तिलाठी टोलका देवनारायण भारतीय सुरक्षाकर्मीको बलमिच्याइँ विरुद्ध निरन्तर लड्दै आएका थिए । जानकारहरुका अनुसार, सीमारक्षा अभियानको नेतृत्वमा रहेका देवनारायणलाई कारबाही गरेर भारतीय पक्ष अभियान तुहाउने षड्यन्त्रमा लागेको थियो।
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रस्थित खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।
केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा देवनारायण गम्भीर घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।